विद्यार्थीको पेशागत भविष्यको लागि करियर परामर्श

हामी बाल्यकाल देखि नै वाह्य कुराको जानकारी लिन, त्यसलाई प्रयोग गर्न उत्साहित हुन्छौ  | प्राय, बालबालिकालाई भविष्यमा के बन्ने भनि प्रश्न गर्दा उनिहरुको दिमागमा जे आउछ त्यही भन्ने गर्दछन् | खेलाडीहरुको प्रशंसा सुन्दा खेलाडी, पाइलट, डाक्टरको ’boutमा थाहा पाउँदा सोहि बन्न चाहना व्यक्त गर्दछन् | जव बालक, युवा अवस्थामा प्रवेश गर्दछ, उसका इच्छाहरु पनि उमेर र वाह्य वातावरण संगसंगै परिवर्तन हुन्छन् |

करियर सम्बन्धि केही प्रश्नहरु:

  • मेरो क्षमताहरु के-के हुन् ?
  • मेरो सबल पक्ष र कमजोर पक्ष के-के हुन् ?
  • मेरो इच्छित पेशा गर्नको लागि उपयुक्त शैक्षिक बाटो कुन हो ?
  • के परिक्षामा ल्याएको प्राप्तांक अनुसार उच्चस्तरीय अध्ययन गर्दा राम्रो हुन्छ ?
  • के मैले मेरो अभिभावकले पुरा गर्न नसकेको करियर सम्बन्धि सपना पुरा गर्नु पर्छ ?

प्रायजसो विद्यार्थीहरुले आफ्नो करियर रोज्दा, माथिका प्रश्नहरुलाई वेवास्ता गरी, आफ्नो इच्छा, क्षमता र उपलब्ध करियर छनोटमा ध्यान नदिई, समाज अथवा सल्लाहकारहरुले दिएको उपदेश तथा मार्गनिर्देशन मानी आफ्नो करियर छनोट गरेको पाइन्छ |

माथिको प्रश्नहरुको जवाफ कहाँबाट हासिल गर्ने?

अनुसन्धानले देखाए बमोजिम ‘करियर परामर्श’ मा सहभागी नभएका व्यक्तिको तुलनामा सहभागी भएकाले आफ्नो व्यक्तित्व र क्षमता सुहाउदो पेशा रोज्ने, उच्च स्तरको पेशागत सन्तुष्टि प्राप्त गर्ने, पेशा परिवर्तन नगर्ने र आफ्नो इच्छा र क्षमता अनुसारको कार्यमा सन्तुष्टि रहेको पाइयो |

करियर परामर्शले कसरी काम गर्छ ?

करियर परामर्श बाट विद्यार्थीहरु धेरै लाभान्वित हुन सक्छन् |  करियर परामर्शकर्ताले विद्यार्थीसंग अन्तरक्रियात्मक र सिर्जनात्मक माध्यमबाट विद्यार्थीमा भएको सबल पक्ष, क्षमताहरु र विद्यार्थीको इच्छा बमोजिमको सम्भावित करियरहरु सम्बन्धित विस्तृत जानकारी र शैक्षिक मार्गदर्शन प्रदान गरि विद्यार्थीहरुको मनमा रहेको जिज्ञासा र समस्याहरुको निराकरण गर्दछ |

साथसाथै करियर परामर्शले विद्यार्थीहरुमा पेशा सुहाउँदो विभिन्न शैक्षिक विकल्पहरु, आधारभूत आवश्यकताहरु, पुर्व व्यावसायिक तालिमहरुको जानकारी र श्रम बजार सम्बन्धित जानकारी प्रदान गर्दछ | श्रम बजारमा उपलब्ध तर ओझेलमा परेका र वेवास्ता गरिएका पेशाहरुलाई प्रोत्साहन र यी पेशाहरुको श्रम बजारमा उपलब्ध अवसर, चुनौती र माग अनुसारको विस्तृत तथ्यांक सहित मार्गनिर्देशन गर्ने गर्दछ |

करियर परामर्शको परिणाम के हुन्छ ?

यसरी करियर परामर्शको माध्यमबाट विद्यार्थीले भविष्यमा आफ्नो व्यक्तित्व अनुकुल पेशागत क्षेत्र पहिचान गर्न सक्दछन् | जसले आफ्नो पेशाप्रति निष्ठावान, कर्मशील, लगनशील र मेहेनतका साथ आफ्नो पुर्वनिर्धारित पेशागत  उपलब्धि हासिल गर्दछ | करियर परामर्शमा प्रयोग भएका प्रक्रिया र विधिले भविष्यको पेशामा आइपर्ने समस्याहरु र अवसरहरुको पहिचान गर्न मदत गर्दछ |

निष्कर्ष

करियर परामर्शले शिक्षा र पेशा बीचको अन्तरलाई पारदर्शी गराई व्यक्तित्व सुहाउदो करियर मार्गनिर्देशन गर्दछ | सफल व्यक्तिहरुको जीवनीलाई सरसर्ती केलाएर हेर्दा पनि उहाँहरु  सफल हुनुमा उहाँहरुको पेशाको रोजाई आफ्नो अन्तरनिहित इच्छा र त्यसप्रतिको लगनशीलता रहेको पाइन्छ | त्यसैले सफल पेशागत भविष्यको लागि आफ्नो इच्छा र क्षमता अनुसार करियर छनोट गर्नु नै उत्तम निर्णय हुन्छ |

Comments are closed.